arrow

ज्येष्ठ नागरिक, एकल महिला र अपाङ्गता भएकालाई सहयोगसहित सम्मान

logo
सरोजश्री अधिकारी,
प्रकाशित २०८१ वैशाख ६ बिहिबार
sahayog-bethanchowk-81-01-0.jpg

काभ्रे । बेथानचोक गाउँपालिका वडा नं १ च्याम्राङबेंशीमा एकैसाथ जेष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका व्यक्तित्वहरूलाई सम्मान, विद्यार्थीहरूलाई पोशाक वितरण तथा विविध साँस्कृतिक कार्यक्रम आयोजना गरिएको छ । 

बेथानचोक गाउँपालिका वडा नं १ को आयोजना, चक्रेश्वर मावि भैरव मावि, चन्देवी प्रावि त्रिवेणी प्रावि, बाघभैरव प्राविको समन्वय र राष्ट्रिय वाणिज्य बैंक, लायन्स क्लब अफ काभ्रे शंखु तथा लायन्स क्लव अफ काठमाडौँ एन्जलको सौजन्यमा भएको कार्यक्रमको सभापतित्व वडा अध्यक्ष मधुसुधन तिमल्सिनाले गरेका थिए । प्रमुख आतिथिमा गाउँपालिका अध्यक्ष भगवान् अधिकारी रहेका थिए । यस्तै विशिष्ट अतिथिमा गाउँपालिका उपाध्यक्ष तारा राना तिमल्सिना थिए । 

कार्यक्रममा वडा भित्रका ३ सय ५० विद्यार्थीहरूलाई पोशाक वितरण गरिएको थियो भने करिब १ सय ४८ ज्येष्ठ नागरिकलाई सम्मान गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष भगवान् अधिकारीले ज्येष्ठ नागरिक सामाजिक र सांस्कृतिक रूपले समाजका जीवित इतिहास भएको धारणा राखे । उनले ज्येष्ठ नागरिक अनुभव, भोगाई र पुस्तान्तरणका लागि खुल्ला विश्वविद्यालय भएकोले उनीहरूको उच्च सम्मान गर्न र आवश्यक परेको खण्डमा सहयोग गर्न राज्यका सबै तहका सरकार लाग्नु पर्ने बताए । 

दायित्वको हिसाबले ज्येष्ठ नागरिकप्रति राज्यको मात्र दायित्व नभई सन्तानले पनि उचित पालन पोषण गर्नु पर्ने कुरामा जोड दिँदै अध्यक्ष अधिकारीले हरेक आमाबुबाको पहिलो प्राथमिकता पनि परिवारसंँगै रहने हुन्छ भन्ने मनोविज्ञानलाई सम्मान गर्न वर्तमान पुस्तालाई आग्रह गरे ।

ज्येष्ठ, एकल महिला, अपाङ्गता भएका व्यक्तिहरूको सम्मान सिंगो समाजको सम्मान भएको उनको जीकिर थियो । भेगीय हिसाबले वडा नं १ का दुर्गम भेगका बालबालिकालाई पोशाक वितरणको कार्यक्रम राखी भर्ना अभियानको समयमा वडाले गरेको कार्यक्रमको उनले प्रशंसा गरे । 

कार्यक्रममा उपाध्यक्ष तारा राना तिमल्सिनाले ज्येष्ठ नागरिकको संरक्षण, सशक्तीकरण वा विकासमा विशेष व्यवस्था गर्ने कुरालाई नेपालको संविधानले प्रष्ट व्याख्या गरेको बताए । 

उनले असहाय वृद्धहरूलाई राज्यले हेरचाह गर्ने कुरा स्मरण गर्दै अग्रजको सम्मान भनेको जीवनभर सँंगालेको ज्ञान, बुद्धि र अनुभवलाईसमेत सम्मान गरेको ठहरिने हुँदा वडा परिवारलाई धन्यवाद दिए । 

उनले युग आधुनिक बन्दै जाने क्रममा वृद्धवृद्धामा एक्लोपन बढ्ने क्रम बढ्दै गएको, परिवार कामको सिलसिलामा घर बाहिर रहने क्रम बढ्दो रहँदा उनीहरूको हेरचाहमा कमी भएको समयमा यस प्रकारका सम्मानले दायित्व बोध बढाएको उनको तर्क थियो । 

कार्यक्रममा वडा नं २ का अध्यक्ष पुरूषोत्तम तिमल्सिनाले गाउँपालिका सबै वडाहरूमा यस प्रकारको वडाका ज्येष्ठ, एकल महिला, अपाङ्गता भएका व्यक्तिहरूको सम्मान कार्यक्रम लैजानु पर्ने तर्क राखे । 

उनले ज्येष्ठ नागरिकको जीवन सहज, सुरक्षित, सम्मानित र सुनिश्चित बनाउनु प्रत्येक सन्तानको दायित्व हो भन्ने कुरा युवा पुस्ताले भुल्न नहुने धाराणा राखे । उनले भने, “ज्येष्ठ नागरिक पथ प्रर्दशक र ज्ञान सीप र संस्कारका पुञ्ज भएकाले उनीहरूलाई घृणा होइन आदर गर्न जरूरी छ ।” 

कार्यक्रममा १ नं वडा अध्यक्ष एवम् कार्यक्रम सभापति मधुसुधन तिमल्सिनाले पूर्वाधार विकाससँगै मानव जीवनसँग जोडिएका शिक्षा, स्वास्थ्य, रोजगारी लगायतका कुराहरूलाई पनि सँगै लैजान सके समुन्न समाज निर्माणको अवधारणा पर नरहेको बताए । 

उनले कार्यक्रम सम्पन्न पार्न सहयोग गर्नुहुने सबिता न्यौपाने दाहाल लगायत सबैलाई धन्यवाद दिँदै घर परिवार, समाज, राष्ट्रमा ज्येष्ठ नागरिक मैत्री वातावरण बनाउन वडास्तरबाटै कार्य गर्दै जानु पर्ने बताए । 

वडाका ज्येष्ठ, एकल महिला, अपाङ्गता भएका व्यक्तिलाई मानसिक र आर्थिक रूपमा सक्ष्म र सुदृढ गराई उनीहरूको दुःख, पीडा र हिनताबोध कम गर्दै लैजानु र मनोरन्जन एव् सन्तुष्टि दिने खालका कार्यक्रमहरू महसुस गरिएकै कारण कार्यक्रम आयोजना गरिएको प्रष्ट पारे । 

कार्यक्रममा विशिष्ट अतिथि लायन्स क्वल अफ काठमाण्डौँ एन्जल डिस्टिक ३२५ जी का कोषाध्यक्ष अग्निविलास अधिकारीले सेवा भावले लायन्स सदैव अघि बढ्ने हुँदा दुर्गम क्षेत्रमा आई आफूहरूले सेवा गर्न पाएकोमा खुशी व्यक्त गरे ।

उनले समुदायसँगको सहकार्यमा भावी दिनहरूमा पनि यस प्रकारका गतिविधि गर्दै जाने, विद्यालयमा पुस्तकालयसमेत स्थापना गर्न सकिने बताउँदै सहकार्यका लागि आफूहरू तयार रहेको बताए । 

कार्यक्रममा विभिन्न कलाकारहरुले उपस्थित व्यक्तिहरुमाझ आफ्ना कलाले मनोरञ्जन प्रदान गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ