arrow

कुशासनको बाटोमा स्थानीय तह

logo
नारायण वली,
प्रकाशित २०८१ वैशाख ६ बिहिबार
narayan-wali-81-01-06.jpg

नेपालमा पटक–पटक राजनीतिक परिवर्तन भए । जनताको जीवनस्तर उठ्ने र देशकै कायापलट हुने जनताको आशा र भरोसाले कहिल्यै सार्थकता पाएन।

जहिल्यै भ्रष्टाचार र कुशासनले मात्रै प्रश्रय पाइरह्यो । २०४६ सालमा ३० वर्षे निरंकुश पञ्चायती व्यवस्थाको अन्त्यका लागि जनताले रगत बगाए । बहुदलीय व्यवस्थाको पुनस्थापना भयो ।  २०६२-०६३  सालमा अर्को जनक्रान्ति भयो । जनताले राजतन्त्र फाले । गणतन्त्र आयो ।  देश संघीयतामा  गयो । 

विगतका जनआन्दोलन र क्रान्तिमा सयौँ सहादत भए, हजारौँले अपांगताको जीवन जीउनु परेको छ ।  देशमा भएका ठूला–ठूला क्रान्तिपछि मुलुकमा भ्रष्टाचार नियन्त्रण हुन्छ, जनताले अब घरको आँगनबाट सेवासुविधा पाउँछन्, देश समृद्ध हुन्छ, विकासले गति लिन्छ भन्ने आमजनतामा विश्वास थियो तर राजनीतिक परिवर्तन भए, जनताको अवस्था परिवर्तन भएन ।

गणतन्त्र, लोकतन्त्रले सुशासनको प्रत्याभूति हुनुपर्नेमा उल्टै अराजकतन्त्रले स्थान लिएको कानूनी शासन हुनुपर्नेमा भ्रष्ट तन्त्र हावी भएको छरपष्ट देखिन्छ ।

यस्तै कुसाशन भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलमा परेका उजुरीका चाङले देखाएको छ । रुपन्देहीका १६ स्थानीय पालिकाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको उजुरी कुञ्जिकामा ३ सय २६ वटा उजुरी परेको पाईएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवलका अनुसार तीमध्ये १ सय ५४ उजुरी फर्छ्यौट भएको बताएको छ भने १ सय ७२ वटा उजुरी छानबिनको क्रममा रहेको बताइएको छ । 

रुपन्देहीमा विभिन्न प्रकृतिका ५२६ उजुरी परेकोमा जसमा २६८ उजुरी फर्छ्यौट हुन बाँकी छन् । रुपन्देहीका १६ स्थानीय पालिकामध्ये बुटवल उपमहानगरपालिका क्षेत्रको सबैभन्दा बढी उजुरी  परेको छ ।

१ सय ३८ उजुरीमध्ये ६७ फर्छ्यौट भएका छन् भने ७१ बटा फर्छ्यौट हुन बाँकी छन् । त्यस्तै लुम्बिनी सांस्कृतिक नगरपालिकाको ६१ उजुरीमध्ये ३२ वटा फर्छ्यौट भएका छन् भने २९ फर्छ्यौट हुन बाँकी छन् । मर्चवारी गाउँपालिकाका ५८ उजुरी मध्ये ३२ उजुरी फर्छ्यौट भएका छन् भने २६ उजुरी फर्छ्यौट हुन बाँकी छन् । त्यस्तै सिद्वार्थनगर नगरपालिका को ५४ उजुरी परेकोमा २३ उजुरी फर्छ्यौट हुन बाँकी छन् ।

गैडहवा गाउँपालिकाका ४४ उजुरीमा २१ उजुरी फर्छ्यौट हुन बाँकी छन् । तिलोत्तमा नगरपालिकाको ३२ उजुरीमा १७ उजुरी फर्छ्यौट हुन बाँकी छन् । कोटहिमाईका ३२ उजुरीमा १३ उजुरी फर्छ्यौट हुन बाँकी छन् ।

मायादेवी गाउँ पालिकाका २१ उजुरी मध्ये १३ उजुरी फर्छ्यौट हुन बाँकी छन् । समरीमाई गाउँपालिकाको २० मध्ये १४ उजुरी फर्छ्यौट हुन बाँकी छन् ।  

रोहिणी गाउँपालिकाको १२ उजुरीमध्ये ७, सियारी गाउँपालिकाको १२ मध्ये ६ उजुरी फर्छ्यौट हुन बाँकी छन् । देवदह नगरपालिकाको ११ वटा उजुरी परेकामा ९ वटा फर्छ्यौट हुन बाँकी छन् ।

ओमसतिया गाउँपालिकाका ९ उजुरीमध्ये ७ उजुरी फर्छ्यौट हुन बाँकी छन् । कञ्चन गाउँपालिकाको ६ उजुरी परेकोमा ४ उजुरी फर्छ्यौट हुन बाँकी छन् ।

जिल्लाको सबैभन्दा कम उजुरी परेको शुद्वोधन गाउँपालिकाको २ वटा उजुरी परेकामा १ वटा फर्छ्यौट हुन बाँकी रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलका सूचना अधिकारी ईश्वरप्रसाद आचार्यले जनाएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलका सूचना अधिकारी ईश्वरीप्रसाद आचार्यका अनुसार बुटवल उपमहानगरपालिकाविरुद्ध परेका २३ वटा उजुरी छानबिनको क्रममा रहेको बताएका छन् ।

उनका अनुसार तिलोत्तमा नगरपालिका अन्तर्गत १४, सैनामैना नगरपालिका ३, देवदह नगरपालिका ७, सिद्धार्थ नगरपालिका ९, लुम्बिनी साँस्कृतिक नगरपालिका १९, गैडहवा गाउँपालिका १६, कोटहीमाई गाउँपालिका १३, सम्मरीमाई गाउँपालिका १२, मायादेवी गाउँपालिका १०, रोहणी गाउँपालिका ७, ओमसतिया ७, सियारी गाउँपालिका ३ र कञ्चन गाउँपालिकामा २ वटा उजुरी छानबिनमा रहेका छन् ।

सूचना अधिकारी आचार्यले स्थानीय तहहरुले स्थानीय प्राकृतिक स्रोत नदीजन्य पदार्थ उत्खननमा गरेको ठेक्का प्रक्रिया, सडक निर्माणकार्य, विद्यालय, कर्मचारी भर्ना र विभिन्न सामाग्री खरिद आदि विषयमा केन्द्रित भएर विभिन्न माध्यमबाट उजुरी परेको बताउँदै जुनसुकै माध्यमबाट उजुरी परे पनि तथ्य र प्रमाणको आधारमा छानबिन प्रक्रिया अगाडि बढाइने, हालसम्म अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय बुटवलको कार्य क्षेत्रभित्र रहेका ८ जिल्लाका ७७ वटा स्थानीय तहमा एक हजार १ सय ४१ वटा उजुरी परेको जनाए । त्यसमध्ये ४ सय ९६ उजुरी फर्छ्यौट भएका छन् भने ६ सय ४५ उजुरी अनुसन्धानको प्रक्रियामा छन् ।

यो त उदाहरण मात्र हो । अहिले जुनसुकै स्थानीय तह विवादबाट मुक्त छैनन् । भ्रष्टाचारले सबै स्थानीय तहलाई गाँजेको छ । यस्तो लाग्छ लोकतन्त्र ल्याएकै यसका लागि हो । 

कुरा स्पष्ट छ, सुशासन नभएसम्म देशले काँचुली फेर्दैन । तन्त्र फेरिन सक्छ तर मुलुकको मुहार फेरिने एकमात्र मन्त्र नै सुशासन हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ