arrow

किन मौलाउँछ रवि प्रवृत्ति ? 

logo
नारायण पौडेल,
प्रकाशित २०८१ वैशाख ४ मंगलबार
narayan-poudel-81-01-01.jpg
तस्बिर – फाइल ।

२०७६ भदौमा सहकर्मी शालिकराम पुडासैनीको आत्महत्यापछि प्राप्त भिडियो रेकर्डका आधारमा पक्राउ परेका सञ्चारकर्मी रवि लामिछाने पौने दुई वर्षअघिसम्म टेलिभिजनमा कार्यक्रम प्रस्तोता थिए भने अहिले उनी अहिले देशको गृहमन्त्री छन् । २०७९ असार २ गते आफैँ प्रबन्ध निर्देशक भएको ग्यालेक्सी फोरके टेलिभिजनबाट राजीनामा दिई राजनीतिमा लागेका लामिछाने अहिले सर्वत्र चर्चाको पात्र बनिरहेका छन् । 

आईएसम्मको औपचारिक शिक्षा पनि हासिल नगरेका उनी वाककलामा चतुर भएकै कारण अन्य क्षमता तथा अनुभव नहुँदा नहुँदै पनि राजनीतिमा एक्कासी उदाए । पहिलोपटक २०७९ पुस ११ गते उपप्रधान तथा गृहमन्त्रीको शपथ लिएका उनी सर्वोच्च अदातलले नेपाली नागरिकता लिने प्रक्रिया नै पूरा नगरेको आदेश गरेपछि पदमुक्त भए । अमेरिकी नागरिकता र पासपोर्ट परित्याग गरे पनि उनले नेपालको नागरिकता लिने प्रक्रिया अगाडि बढाएको नदेखिएको हुँदा उनी सांसद बन्न अयोग्य मानिएका थिए । त्यस लगत्तै नेपाली नागरिकता लिएका लामिछाने उपनिर्वाचनमा पनि विजयी भए । तथापि उनको नागरिकता तथा राहदानी सम्बन्धी विवाद सम्मानित सर्वोच्च अदालतमा विचाराधीन छ ।

रवि लामिछाने सन् २००७ देखि २०१७ सम्म अमेरिकी नागरिक थिए भने अहिले पनि उनी नेपाली नागरिक हुन् कि होइनन् भन्ने विषय निष्कर्षमा पुगिसकेको छैन । उनी अमेरिकामा रहँदा विभिन्न बहानामा संकलन गरेको करोडौँ चन्दा, सहकारी ठगीमा आफूसहित आफ्नी पत्नी तथा उनका विश्वासपात्र भनिएका श्रममन्त्री डीपी अर्याल र सहमहामन्त्री कविन्द्र बुर्लाकोटीसमेत संलग्न देखिने प्रमाण, आफ्नै सवारी चालकको मृत्यु, सम्बन्ध विच्छेद नगरिकन भएको विवाह लगायतका विभिन्न प्रकरणमा मुछिएका उनी आफैँ फौजदारी अपराधमा अनुसन्धानका लागि निर्देशन दिने निकायको प्रमुख गृहमन्त्रीको पदमा आसिन छन् । 

यसै विषयलाई लिएर सदन, सडक, समाज, सामाजिक सञ्जाल तथा मिडियाहरूमा संवेदनशील ढंगले बहस चलिरहेको छ । हाल विशेषगरी उनीलगायत उनका निकटस्थ व्यक्तिहरू अर्बौँ रुपैयाँ हिनामिना भएका सहकारीहरूमा संलग्न भएको र उनीहरूको नाममा आर्थिक कारोबार देखिएका प्रमाणहरू बाहिर आएका छन् । यति मात्रै होइन, लामिछानेले टेलिभिजनमा सिधा कुरा जनतासँग कार्यक्रम चलाउँदा पीडितहरूबाट करोडौँ रकम असुल गरेको आरोप पनि बेलाबखत सुन्न पाइन्छ । 

आफूमाथि प्रश्न उठेपछि आफैँ अनुसन्धान प्रमुख मानिने पद गृहमन्त्रीमा विवादित व्यक्ति आसिन भइरहनु हुँदैन, राजीनामा दिनु राजनीतिक नैतिकता हुन आउँछ । तर उनी अहिले देशकै पहिलो पार्टीको नेता भएसरह अभिव्यक्ति दिँदै हिँडिरहेका छन् भने उनले आफूलाई कानून नै नलाग्ने व्यक्ति सावित गर्न खोज्दैछन् ।

विशेषतः उनी विरुद्ध सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको तथा सहकारी ठगी सम्बन्धमा गहन अनुसन्धान गर्नुपर्ने व्यक्तिले त्यसको तालाचाबी आफैँ लिएको अवस्थामा पीडितहरूले न्याय पाउने सम्भावना हुँदैन वा भइहाल्यो भने न्यून हुन्छ । अर्कोतर्फ प्रहरी प्रमुखलाई मेरो विरुद्ध अनुसन्धानमा लागे पदबाट बर्खास्त गर्छु भन्ने धम्की दिएर राज्यव्यवस्था समितिमा उपस्थित गराई लामिछानेविरुद्ध अनुसन्धान गर्नका लागि प्रमाण नभेटिएको अभिव्यक्ति दिन बाध्य पारे भने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीले लामिछानेलाई सुरक्षा कबच लगाइरहेका छन् । 

उनी र उनका सांसदहरूले सदनमा लोकतन्त्रको कुरा उठाइरहँदा संसदमा गणितीय हिसाबले चौथो दलका नेता रहेका लामिछानेलाई उनले नै दाबी गरेको मन्त्रालय दिनुपर्ने संसारको कुन संसदीय व्यवस्थाले अभ्यास गरेको छ ? रवि र उनका निकट मानिएका व्यक्तिहरूको यस्तो रवैया बाहिर आउँदा आउँदै पनि केही सर्वसाधारण जनता उनीहरूलाई अहिले पनि किन भगवान् मानिरहेका छन् ? त्यस्तै संसदका पहिलो, दोस्रो र तेस्रो राजनीतिक शक्तिहरू के कारणले गर्दा रवि प्रवृत्तिसँग डराइरहेका छन् ? यसको जवाफ कहिले आउँछ, कसले दिन्छ ?

लामिछाने देशको संविधानअनुसार गृहमन्त्री बनेको र उनीमाथि लागेका आरोपहरूको पुष्टि नभएको तथा प्रमाण नभेटिएको भन्दै प्रधानमन्त्री प्रचण्डले लामिछानेको रक्षाकबजको काम गरिरहेका छन् । गृहमन्त्री स्वयं यो त अन्याय भयो, ग्यालेक्सी टेलिभिजनको सञ्चालक समिति बैठकले सहकारीबाट पैसा लिने विषयमा कुनै निर्णय गरेको छैन, कोही कसैले मेरो नागरिकता तथा हस्ताक्षर दुरूपयोग गरेको हुनसक्छ, यस्तो कार्यमा मेरो संलग्नता छैन, कसैले पैसा जम्मा गर्ने बेलामा मेरो नाम लेखिदिएको वा अन्य कारणले सहकारी ठगीमा मलाई जोड्न खोजेको हुनसक्छ, यसमा म पनि पीडित हुँ भन्दै उम्किरहेका छन् । 

एउटा सर्वसाधारण व्यक्ति उपर यतिधेरै प्रमाणहरू संकलन गरिँदो हो त त्यो व्यक्तिको अवस्था के हुने थियो ? यदि उनी साँच्चिकै निर्दोष छन् भने आफू उपर यतिधेरै प्रश्न उठेपछि तत्काल राजीनामा दिएर अनुसन्धानमा सहयोग गर्दा उनको नैतिकता जोगिने नै थियो । 

यतिसम्मकि आफ्नो खातामा एक करोड ८० लाखको चेक ग्लोबल आईएमई बैंकबाट जम्मा गरिएको तर पर्याप्त रकम नभएकाले त्यो चेक नसाटिएको अभिव्यक्ति पनि लामिछानेले दिए । यतिमात्रै होइन, यदि मैले कुनै दायित्व बहन गर्नुपर्ने हो भने त्यो दायित्व बहन गर्न आफू तयार रहेको पनि उनी बताउँछन् । 

तर गृहमन्त्रीको पहुँच प्रयोग गर्दै उनी आवद्ध रहेको भनिएको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा भएको ठगी सम्बन्धमा खटिएको अनुसन्धान टोलीलाई कारबाही गरेर आफू निर्दोष सावित हुन खोज्दैछन् । उक्त सहकारी ठगीमा आफ्नो नाम नियतवश जोडिएको बताउँदै उनले यो सम्पूर्ण प्रक्रियामा कहीँ न कहीँ कीर्ते भएको र त्यस्तो ठगीजन्य कार्यमा आफू संलग्न नरहेको बताउने उनी तालाचाबी नै आफैंसँग हुँदा कसले कीर्ते गर्यो वा कसले ठगी गर्यो भन्ने विषयमा गहिरो अनुसन्धान गर्न तत्परता देखाउँदैनन् । किन ?

सहकारी विभागमा परेको उजुरी अनुसार यसअघि ग्यालेक्सी टीभी सञ्चालन गर्ने गोर्खा मिडिया नेटवर्कले कर्जा लिएको र त्यस्तो कर्जा गैरकानूनी भएको दाबी गर्दै उक्त कम्पनीले कर्जा भुक्तानी नगरी सहकारीको रकम हिनामिना गरेको आरोप छ, जतिबेला लामिछाने उक्त कम्पनीको प्रबन्ध निर्देशक थिए । 

यसको दायित्व बहन कसले गर्नुपर्ने हो ? लामिछानेले अझै पनि यदि सहकारी ठगीमा मेरो कुनै संलग्नता रहेछ भने मेरो सम्पूर्ण जायजेथाबाट उठाए हुन्छ भन्दै आफूमाथि राज्यका जुनसुकै निकायले छानबिन गरेर दोषी प्रमाणित गरोस् भनेर चुनौती दिँदै हिँडिरहने हो कि त्यसका लागि मार्गप्रशस्त गर्ने हो ? अरुलाई नैतिकताको पाठ सिकाउँछु भन्दै हिँड्ने उनले नैतिकता देखाउनु पर्दैन ? आफूलाई कहिले बीपी कोइराला त कहिले महात्मा गान्धीसँग तुलना गर्दै हिँड्ने उनीविरुद्ध आवाज नै उठाउन नपाइने हो कि कसो ?

व्यक्ति जतिसुकै लोकप्रिय वा शक्तिशाली होस्, कानून भन्दा माथि कोही हुन सक्दैन र सबैको लागि कानून समान हुन्छ, हुनुपर्दछ । यति कुरा लामिछानेले कहिले बुझ्ने हो ? शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा प्रहरीले पक्राउ गरेपछि उनले म प्रहरीबाटै असुरक्षित छु, बाहिर निस्केको तीन मिनेटभित्र म आफूलाई निर्दोष प्रमाणित गर्न सक्छु भन्दै आफ्ना समर्थकहरूलाई उत्तेजित बनाएजस्तै अहिले पनि आम नागरिकलाई विभिन्न बहानामा उत्तेजित बनाउने कामहरू गर्दै आएका छन् । 

वास्तवमा राजनीति उत्तेजना तथा लहडमा हुँदैन । राजनीति त सामाजिक परिवर्तनको निरन्तरताको लागि गरिनुपर्दछ । व्यक्तिगत लाभहानिमा राजनीति सीमित हुँदै गयो भने अन्ततः त्यस्तो राजनीतिले देश र जनतालाई बर्बाद गर्दछ ।

रवि वास्तवमा कम्युनिष्ट विचारधाराका अनुयायी हुन् । उनलाई लोकतान्त्रिक मूल्य र मान्यता मन पर्दैन भने आफूविरुद्ध बोल्ने व्यक्ति उनका शत्रु मानिन्छन् । उनले आफ्नै पार्टीभित्र लोकतन्त्रको कुरा गर्ने नेता तथा कार्यकर्ताहरूलाई दण्डित गरिसकेका छन् । 

पछिल्लोपटक मन्त्रिमण्डल गठन हुँदा आफ्नो पार्टीबाट प्रत्यक्ष निर्वाचन जितेर आएका तथा जनमानसमा लोकप्रियता हासिल गरेका व्यक्तिहरूलाई उनले मन्त्रिमण्डलमा समावेश गरेनन् । यसको मुख्य कारण भनेकै उनीहरूले रविको अराजक शैलीविरुद्ध आवाज उठाएका थिए । फलस्वरुपः उनीहरू दण्डित भए भने उनलाई चाकरी गरेर नथाक्नेहरूले मन्त्री पद पाए । अर्कोतर्फ रविले नेतृत्व गरेको पार्टीको विधान, सिद्धान्त, नीति तथा कार्यक्रम भनेकै लामिछानेको अभिव्यक्ति हो, त्यसबाहेक उनको पार्टीमा अरु कुनै वैचारिकता छैन ।

हुनत नेपालमा मात्रै नभई विश्व राजनीतिमै यदाकदा रवि प्रवृत्तिको उदय हुँदै आएको र केहीसमय पछि यस्तो प्रवृत्ति हराउँदै गएको वा समाप्त भएको इतिहास धेरै छ । विशेषतः प्रमुख राजनीतिक दलहरूप्रति नेपाली जनतामा उत्पन्न भएको वितृष्णाले रविको उदय भएको हो । त्यसमाथि नेपाली जनताहरूले जहिले पनि परिवर्तन खोजिरहने तर परिवर्तनको संस्थागत विकासमा ध्यान नदिने वा एकताबद्ध नहुने परिस्थितिले गर्दा नै अहिलेको परिस्थिति निर्माण भएको हो । 

सायद मुलुकमा यस्तै अवस्था रहिरहने बुझेर नै होला, सर्वमान्य नेता गणेशमान सिंहले नेपाली जनता भेँडा हुन् भन्ने अभिव्यक्तिसमेत दिएका थिए । यसैको परिणामस्वरुप पछिल्लो राजनीतिक घटनाक्रममा रवि लामिछाने, बालेन साह, हर्क साम्पाङ, गोपी हमाल जस्ता व्यक्तिहरू कार्यकारी पदमा पुगे । 

उनीहरूले कहाँ कति जनहितमा कामहरू गरिरहेका छन्, त्यो एउटा पाटो हो । तर उनीहरूबाट जनताले अपेक्षा गरेका कार्यहरू भइरहेका छन् कि छैनन् वा हुन सक्ने सम्भावना छ कि छैन, यो महत्वपूर्ण विषय हो । त्यसैले व्यक्ति नभई अराजकता, अनियमितता, गैरराजनीति जस्ता प्रवृत्तिविरुद्ध आमनागरिक प्रतिबद्ध र एकताबद्ध हुनु जरुरी देखिन्छ । (लेखक अधिवक्ता हुन्) ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ