arrow

टिकटकका मालिकको मुनाफा ६० प्रतिशतले बढ्यो– ब्लुमबर्ग

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत २९ बिहिबार
tiktok.jpg

काठमाडौँ । टिकटकको मालिक बाइटडान्सको मुनाफा सन् २०२३ मा ६० प्रतिशतले बढेको र यसले अनलाइन प्रतिद्वन्द्वीहरू टेनसेन्ट र अलिबाबालाई पछाडि पारेको स्रोतहरूलाई उद्धृत गर्दै ब्लुमबर्गले बुधबार बताएको छ । 

बाह्र वर्षअघि बेइजिङ अपार्टमेन्टमा आफ्नो जन्मपछि बाइटडान्स विश्वको सबैभन्दा ठूलो प्राविधिक कम्पनीमध्येको एकमा विकसित भएको छ । बाइटडान्सलाई अधिकांश मुलुकमा भिडियो एप टिकटकको निर्माताका रूपमा चिनिन्छ । 

मार्केट इन्टेलिजेन्स फर्म सिपी इनसाइट्सका अनुसार हालैका वर्षहरूमा कम्पनी विश्वको सबैभन्दा मूल्यवान् प्राविधिक कम्पनीमध्ये एक बन्न सफल भएको छ । यसको मूल्य करिब दुई खर्ब २५ अर्ब डलर भएको छ । 

‘यस विषयमा परिचित मानिसहरू’ लाई उद्धृत गर्दै ब्लुमबर्गको रिपोर्टमा ब्याज, कर, मूल्यह्रास र ऋणमुक्तिअघि कम्पनीको आम्दानी सन् २०२२ मा करिब २५ अर्ब डलरबाट बढेर ४० अर्ब डलरभन्दा धेरै पुगेको उल्लेख छ । रिपोर्टमा बिक्री पनि ८० अर्ब डलरबाट बढेर करिब एक खर्ब २० अर्ब डलर भएको बताइएको छ । 

रिपोर्टको नतिजाअनुसार बाइटडान्सले राजस्व र आम्दानी दुवैमा प्रतिद्वन्द्वी टेनसेन्टलाई पहिलोपटक उछिनेको छ । ब्लुमबर्गले आन्तरिक आँकडाहरूको स्वतन्त्ररूपमा लेखापरीक्षण गरिएको थिएन भनेको छ । बाइटडान्ससँग सम्पर्क गर्दा उसले ‘बजारका अनुमानहरू’ माथि टिप्पणी नगर्ने बतायो । 

कम्पनीले सन् २०१७ मा टिकटक लन्च गरेको थियो र एपको सन्सारमा यसले तहलका मच्चाएको छ । चार वर्षमा यसले एक अर्ब प्रयोगकर्ताको आँकडा पार गरेको छ । एप डुइयानको अन्तर्राष्ट्रिय संस्करण थियो । यसलाई सन् २०१६ मा चीनमा जारी गरिएको थियो र अहिले यसका करोडौँ प्रयोगकर्ता छन् । 

ती एपहरूको विस्फोटक वृद्धिका कारण बाइटडान्सले इ–कमर्स र यात्रा बुकिङमा विस्तार गरेको छ र एउटा भिडियो सम्पादन एप पनि जारी गरेको छ । चिनियाँ यस कम्पनीले विश्वभरका करिब एक सय २० सहरमा उसका एक लाख ५० हजारभन्दा धेरै कर्मचारी भएको बताएको छ । 

निजी स्वामित्वमा रहेको कम्पनी बाइटडान्सले राजस्व र आम्दानीको आँकडा जारी गर्दैन तर यसको आम्दानीको मिडिया अनुमानले यसलाई विश्वको केही सबैभन्दा ठूला कम्पनीहरूको बराबरीमा राखेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ