arrow

पोखरा महानगरले अदालतको आदेश पालना नगरेको भन्दै स्थानीय आन्दोलित

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत २३ शुक्रबार
pokhara-metro1.jpg
तस्बिर : फाइल

काठमाडौँ। पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले सर्वोच्च अदालतको आदेशलाई अवहेलना गरी फेवाताल सिमसार क्षेत्रका जग्गा भोग चलनमा रोक लगाएको भन्दै स्थानीयहरू आन्दोलित भएका छन्।

आन्दोलित स्थानीयहरूले मेयर आचार्यले फेवातालको संरक्षण र संवर्द्धनमा लाग्नुको सट्टा उल्टै फेवाताल देखाएर सिमसारको नाममा स्थानीयलाई तर्साए र उठीबास लगाउन खोजेको भन्दै आन्दोलनमा उत्रिएका हुन। सर्वोच्च अदालतले फेवातालको ६५ मिटर मापदण्डभित्र रहेका संरचना हटाउन दिएको आदेशको अहिलेसम्म कार्यान्वयन गर्न भने महानगरले सकेको छैन।

स्थानीयहरूले अदालतको आदेश पालना नगर्ने, पहुँच र सम्बन्ध नपुग्नेलाई व्यक्तिगत जग्गा भोग चलन गर्न रोक लगाई अधिकारबाट वञ्चित गराउने, अनुहार, पहुँच, आदेश र मुखको भरमा कानुन स्थापित गर्ने पोखरा महानगरको विभेद र ज्यादती अन्त्यको लागि भन्दै फेवातालका उपल्लो क्षेत्रका बासिन्दाहरू एकजुट भएका छन्। महानगरको ज्यादती विरुद्ध सशक्त रूपमा आन्दोलनको उत्रने स्थानीयले बताएका छन्। फेवाताल क्षेत्रका स्थानीय युवराज खतिवडाले पोखरा महानगरपालिकाले अदालतको आदेश पालना नगरेको बताए। उनले महानगरले आवासीय जमिनमा हक जमाउन खोजेको बताए। स्थानीय खतिवडाले फेवाताल क्षेत्रको आवासीय जग्गा सुरक्षित गर्नको लागि प्रयोग गर्दा नियन्त्रणमा लिएका सवारी साधनहरू फिर्ता गर्न अदालतले आदेश दिँदा समेत पालना नगरेको बताए। उनले जग्गाका मोहीहरू सम्बन्धित निकायहरूमा न्यायको लागि जान तयार रहेको बताए। उनले फेवाताल भन्दा ५ किलोमिटर माथि रहेको जग्गामा समेत महानगरले हक जमाउन खोजेको बताए। उनले मेयरको प्रिय बन्न नसक्दा आफ्नो जग्गा आफैँले पाउन नसकेको बताए।

स्थानीय गीता भुजेलले पनि फेवाताल भन्दा ५ किलोमिटर माथि रहेको आफ्नो जग्गाको भोग चलन गर्न पाउनुपर्ने बताए। उनले जग्गामा प्लटिङ गरेर अन्य सबैले आफ्नो तरिकाले भोग चलन गरे पनि आफूहरूले प्लटिङ गरेर खेती गर्न महानगरले नदिएको गुनासो गरे। उनले पुर्खादेखि भोग चलन गर्दै आएको जग्गामा अहिले पनि प्रयोग गर्न पाउनुपर्ने बताए। स्थानीय ढकमाया भुजेलले पनि महानगरसँग पहुँच भएकाहरूले आफ्नो जग्गालाई प्लटिङ गरेर आफू अनकुलको बनाएको तर आफूहरूलाई महानगरले अवरोध गरेको बताए। उनले लालपुर्जा नभएका मानिसहरूले ५ तलाको घर बनाएर बस्ने तर लालपुर्जा भएकाहरूले खेती लगाएर पनि खान नपाउने भन्ने नहुने भन्दै सबै मिलेर न्यायको लागि आन्दोलन गर्ने बताए।

अर्का स्थानीय देवीलाल लामिछानेको पनि त्यस्तै गुनासो रहेको छ। उनले उच्च अदालतले फेवाताल क्षेत्रका तिरो तिरेका र लालपुर्जा भएका जग्गा हक भोग गर्न दिन आदेश दिए पनि महानगरले ज्यादती गरेर रोक लगाएको बताए। उनले जग्गाको रातो किताब सिरानीमा राखेर हिँडिरहेको बताए।

महानगरपालिकाले आफ्नो चित्त नबुझ्ने र पहुँच नपुग्नेलाई डोजर लगाइ रोक लगाएको उनीहरूको आरोप छ। महानगरका मेयर आचार्यले आफ्नो चित्त बुझाइदिनेलाई प्लटिङ गरेर जग्गा कारोबार गर्न खुला छोडेको आरोप लगाए। उनीहरूले आवास क्षेत्रलाई मेयर आचार्यले हचुवाका भरमा सिमसार भन्दै स्थानीयलाई अनावश्यक दुःख र हैरानी दिँदै आएको बताए। वर्षौँदेखि जमिनको उपभोग गर्दै महानगरमा तिरो तिर्दै आएका जग्गाधनीलाई आफूखुसी भोग चलन गर्न रोक लगाउन नपाउने उनीहरूको माग छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ